विश्वकै महँगो लागूऔषध मोरङबाट बरामद, कारोबारमा संलग्न उच्च घरानाका व्यवसायी पक्राउ
Published:
by .विराटनगर । विश्वमा अत्यधिक माग रहेको र महँगोमध्येमा पर्ने मेथान्टामाइन आइस नामक लागूऔषध मोरङबाट प्रहरीले पहिलो पटक बरामद गरेको छ ।
दुव्र्यसनीले धेरै रुचाएको सूचीमा पर्ने यो लागूऔषध उच्चगुणस्तरको र नयाँ प्रकृतिको रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो । अत्यधिक महँगो लागूऔषधको कारोबारमा संलग्न उच्च घरानाका व्यवसायीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले उच्च गुणस्तरको लागूऔषध सहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम (आधा किलोग्रामभन्दा बढी) लागूऔषध पनि बरामद गरेको पोखरेलले बताए ।
विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागूऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए । कोही व्यक्तिलाई लागुऔषध पु¥याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बेला पोखरेलको साथबाट दुई सय ग्राम २२ मिलिग्राम लागूऔषध बरामद भएको थियो । प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा हानेर मंगलबार साँझ अरु लागूऔषध बरामद गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । नयाँ प्रकृतिको र उच्च गुणस्तरको लागूऔषधका कारोबारी पोखरेल उच्च घरानाका व्यवसायी रहेको प्रहरी स्रोतले बतायो । उद्योगमा लगानीसमेत रहेका उनी घरजग्गाको पनि कारोबार गर्ने गरेको बताइएको छ । एसपी पोखरेलले उच्च गुणस्तरको लागूऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जानकारी दिए
मेथान्टामाइन आइस नामक केमिकल ड्रग्स लागूऔषध हो भन्ने कुरा केहीअघि जापानको एउटा प्रयोगशालाबाट पत्ता लागेको प्रहरी स्रोतको भनाइ छ ।
यसको अन्तर्राष्ट्रिय मूल्य प्रति ग्राम ८० डलरभन्दा बढी रहेको र तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ ।
पक्राउ परेका पोखरेलले यही लागूऔषधको कारोबार गर्नका लागि अरु मुलुकामा पनि अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ ।
नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीले यस घटनालाई विस्तृतमा पछि सार्वजनिक गरिने जनाएको छ ।
Comments