समुदायमा फैलियो कोरोना, प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोन’मा
Published: (Updated: )
by .बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको हो ।
शुक्रबार प्रदेशसभाको बर्खे अधिवेशनको अन्त्यमा मुख्यमन्त्री शेरधन राईले तीन महिनासम्म क्वारेन्टाइनमा रोकिएको कोरोना समुदायस्तरमा पुगेको बताए । बिराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेका छन् ।
पछिल्लो एक सातामा बिराटनगरमा संक्रमण पुष्टि भएको तथ्याङले संक्रमण समुदायस्तरमा पुगेको देखाउँछ । ७ साउनदेखि १४ साउनसम्म बिराटनगरमा ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये आधाभन्दा बढी ट्राभल हिस्ट्री नभएकाहरु छन् । संक्रमितमध्ये २४ जना प्रहरी सुरक्षाकर्मी र ९ जना स्वास्थ्यकर्मी छन् भने अन्य सर्वसाधारण छन् ।
बुधबारसम्म प्रदेश १ मा ९७५ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा ४१ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको छ ।
रिस्क जोनमा २० वटा स्थानीय तह
प्रदेश १ सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा २० वटा स्थानीय तहलाई राखेको छ । भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिस्क जोन’ (जोखिमयुक्त क्षेत्र) मा राखेको हो । भारतमा संक्रमण दर उच्च छ । खुला सीमा भएका कारण संक्रमण फैलनसक्ने जोखिम रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । उनका अनुसार मोरङका ६, सुनसरीका ५, झापाको ५ र इलामका चारवटा स्थानीय तह जोखिममा छन् ।
प्रदेश सरकारले मोरङको बिराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ । त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन् ।
सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु जोखिममा छन् । झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका जोखिममा छन् । त्यस्तै इलामको रोङ, सूर्योदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन् ।
अनलाइन बाट
Comments