Sajhamanch Archive

श्रम प्रमुख सञ्जेलमाथि कार्यकक्षमै आक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर ।  श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा आक्रमण भएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता एवं सरकारी कर्मचारीको छवि बनाएका सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ । दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन घटनाको अनुसन्धान सुरु गरिएको बताए । कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेर रगताम्य भएको प्रहरीले जनाएको छ ।

सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् । कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए । त्यतिबेलै आइपुगेका सञ्जेललाई उनकै कार्यकक्षमा चुक्कुल लगाएर आक्रमण गरिएको प्रहरीले जनाएको छ ।सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् । पत्येक दिन राति ८-९ बजेसम्म उनी सधैं कार्यालयकै काममा व्यस्त हुन्छन् ।

कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ । कुटाई खाएको बताए पनि सञ्जेलबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *