Sajhamanch Archive

गोपाल गौरी दिगो विकास प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष पदमा पुनः भद्रकुमार राई सर्वसम्मत चयन भएका छन् । प्रतिषठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्ष पदमा राई सर्वसम्मत चयन भएका हुन् ।

प्रतिष्ठानको उपाध्यक्षमा कल्पना कार्की, महासचिव यामनाथ काफ्ले, सचिव गणेश घिमिरे, कोषाध्यक्ष शुसिला न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मीना दर्नाल, दुर्गा नेम्बाङ, टेकेन्द्र श्रेष्ठ, नवराज न्यौपाने, नारायण भट्टराई, विष्णुप्रसाद भट्टराई, राजेश पोख्रेल र खनीमाया श्रेष्ठ रहेका छन् ।

तीनवर्ष अघि स्थापना भएको प्रतिष्ठानले छोटो समयमा नै राम्रो ख्याति कमाउन सफल भएको छ । प्रतिष्ठानले समाजमा रहेका अति विपन्न, एकल महिला, अशक्तहरुलाई आत्मनिर्भर बनाउनका लागि अत्यन्तै उपयोगी सीपमूलक तालिम, ढाका बुनाई, सिलाई कटाई लगायतका तालिम सञ्चालन गर्दै आएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउँदै विविध सामग्री खरिद गर्न नसक्नेहरुलाई ढाका तान तथा सिलाई मेसिन वितरण समेत गरिसकेको छ । बाढी पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउँदै आएको प्रतिष्ठानले विश्व नै आक्रान्त बनाउँदै आएको कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरि मास्क वितरण गरेको जनाएको छ ।

शिवसताक्षीको क्वारेन्टाइन निर्माणका क्रममा २ थान अस्पताल बेडसहित ८० हजार बढीको सामग्री हस्तान्तरण गरिएको समेत प्रतिवेदनमा उल्लेख छ । प्रतिष्ठानले आफ्नो भवन निर्माणका लागि १३ कट्ठा जमीनसमेत खरिद गरेको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले बताइन्। अधिवेशनमा प्रतिष्ठानका आजीवन सदस्यहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको थियो ।

शिवसताक्षी नपाकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष भद्रदुमी राईले प्रतिवेदन प्रस्तुत गर्दै ७ लाख १४ हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा गौतम, केन्द्रीय सदस्यहरु शुसिला न्यौपाने, कल्पना कार्की, देवी ओझा लगायतको आतिथ्यता तथा मन्तव्य रहेको थियो ।

भद्रदुमी राईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सचिव गणेश घिमिरे र सञ्चालन नारायण भट्टराईले गरेका थिए । कार्यक्रम कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *