भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, सात सैनिक घाइते
Published:
by .काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् ।
भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो ।
यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो ।
राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले माथितिर हेर्न थालेका थिए ।
यसै क्रममा ठूलो आवाज सुनिएको थियो । ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो । ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।
भेनेजुएलाका सञ्चार मन्त्री जर्ग रोड्रिग्जले राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको आरोप लगाए । उनले घटनामा सात जना सैनिक घाइते भएको जानकारी दिए । घाइते सैनिकहरुको उपचार भइरहेको छ ।
घटनापछि सुरक्षाकर्मीले अनुसन्धानलाई तिव्रता दिएका छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।
Comments