Sajhamanch Archive

कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गरिने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ ।

खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको हो । यस्तो विवरण सार्वजनिक निकायले साउन मसान्तभित्र बुझाउनु पर्ने भएको छ ।

उक्त आवमा भएका क्रियाकलाप र खर्चको विवरण संकलन गर्न लागिएको कार्यालयले जनाएको छ । यता, चालु आर्थिक वर्ष २०७७/७८ मा भएको खर्चको विवरण भने चौमासिक रुपमा सार्वजनिक गर्ने तयारी कार्यालयको छ । चालु आवको खर्च कात्तिक, फागुन र असार महिनामा सार्वजनिक गरिने कार्यालयले उल्लेख गरेको छ ।

सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भइरहँदा अहिलेसम्म कुन निकायले कति खर्च गरे भन्ने तथ्यांक नै केन्द्रसँग नभएको पुष्टि भएको छ । यसअघि कोरोना रोकथाममा १० अर्ब खर्च भएको सार्वजनिक गरेको सरकारले कुन निकायमा कति खर्च भयो भन्ने समेत सार्वजनिक गर्न सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *