कोटीहोमको पीसीआर ल्याब मेची प्रादेशिक अस्पतालले सञ्चालन गर्ने
Published: (Updated: )
by .बिर्तामोड । ‘एकका लागि एक अभियान’को अगुवाइमा जनस्तरबाट झापाको कनकाई नगरपालिका वडा नं. ४ कोटीहोममा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याव मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गर्ने निर्णय भएको छ ।
मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको बैठकबाट उक्त निर्णय भएको हो । अभियानले उक्त ल्याव अस्पताललाई हस्तान्तरण गर्ने र सो ल्याव अस्पतालले सञ्चालन गर्ने अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्माले बताए ।
ल्याव सञ्चालनका लागि मेची अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति लगायतका प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ । अध्यक्ष विश्वकर्माको अध्यक्षतामा भद्रपुरमा भएको बैठकले ल्याव सञ्चालन सहितका चार बुँदे निर्णय गरेको हो ।
ल्याव सञ्चालनका लागि चाहिने जनशक्ति कनकाई नगरपालिकाले नियुक्त गरेर अस्पताललाई काजमा दिने, हाललाई जनशक्तिको सम्पूर्ण व्ययभार कनकाई नगरपालिकाले समन्वय गरेर प्रदान गर्ने निर्णय भएको छ ।
त्यस्तै ल्याव सञ्चालनको दैनिक व्यवस्थापन मेची अस्पतालले गर्ने सहमति भएको छ । ‘एकका लागि एक अभियान’लाई प्राप्त भएका सबै सामग्रीहरु अस्पताललाई हस्तान्तरण गर्न सहयोग गर्ने निर्णय भएको छ ।
अभियानका तर्फबाट संयोजक महेन्द्रकुमार गिरीले विषय उठान गरेका थिए । उनले महामारी नियन्त्रणमा सहयोग पुर्याउन सरकार–समुदाय–सहकारी अभियान र निजी क्षेत्रको साझेदारीमा स्थापित पीसीआर ल्यावका लागि आवश्यक थप उपकरणहरु जुटाउँदै जाने समेत विश्वास दिलएका छन् ।
Comments