Sajhamanch Archive

स्थानीयतहमा कोरोनाको बिल एउटै तकियाको ८ हजार, अख्तियारद्वारा छापा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह by .

सिरहा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दीबासको कार्यालयले सिरहा नगरपालिकाको कार्यालयमा छापा मारेको छ । अख्तियारले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकमको कागजातहरु छानविनका लागि नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका अधिकृत नवराज सुवेदीको नेतृत्वको टोलीले आइतबार अपरान्ह ४ः०० बजे सिरहा नगरपालिकाको कार्यालयमा छापामारी कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न खरिद गरेको खरिद सम्बन्धी कागजात छानबिनको लागि नियन्त्रणमा लिएको हो ।

अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीले नगरपालिकाले कोरोना नियन्त्रणमा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानविन थालेको बताए । जिल्ला प्रशासन कार्यालय सिरहाले गत साउन १० गते सिरहा जिल्लाको सम्पूर्ण स्थानीय तह तथा सरकारी कार्यालयलाई गत वर्ष भए गरेका काम कारबाहीको खर्च विवरण आफ्नो कार्यालयको वेवसाइटका साथै जिल्ला प्रशासन कार्यालयमा समेत पठाउन निर्देशन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट त्यस्तो निर्देशन आएपछि स्थानीय तहले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा भएको खर्च विवरण पठाएका थिए । स्थानीय तहहरुले पठाएको खर्च विवरण प्रशासनले सार्वजनिक गरेपछि सिरहा नगरपालिकाको खर्च विवरणले चर्चा पाएको थियो ।

सिरहा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि पाँच करोड ९० लाख ८६ हजार ४३० रुपियाँ खर्च गरेको विवरण पठाएको थियो । उक्त विवरणमा अधिकांश सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी देखाइए पनि सबैको ध्यान क्वारेन्टाइनमा राखिएकाहरुलाई सुत्न व्यवस्था गरिएको डस्ना, तन्ना र तकिया (सिरानी) को खोलप्रति केन्द्रित भएको थियो ।

सिरहा नगरपालिकाले प्रति डस्नामा एक हजार ४९० रुपियाँ, प्रति तन्नामा आठ हजार ७१ रुपियाँ तथा प्रति तकिया (सिरानी) को खोलमा दुई हजार ८७६ रुपियाँ खर्चिएको देखाइएको छ । नगरपालिकाले ३०६ थान डसना चार लाख ५५ हजार ८५० रुपियाँमा, ५५८ थान तन्ना ४५ लाख तीन हजार ७७५ रुपियाँमा तथा १११ थान तकिया (सिरानी) को खोल तीन लाख १९ हजार २७५ रुपियाँमा खरीद गरेको विवरण सार्वजनिक गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *