Sajhamanch Archive

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्ने टिप्पणी गरेका छन् । मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको उनको आरोप छ ।

मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गरेर कोरोनाविरुद्धको लडाई नजितिने बताए । उनले भने, ‘आजको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीविरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु ।‘

अघि भने, ‘चाहे ती मेरा घरभित्र बसेका हुन, चाहे छिमेकमा बसेकाहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण र महामारी कमजोर बनाउन योगदान पुर्‍याउन सक्दैन ।’

महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि लड्न सकिने उनले बताए । ‘सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिदैन’ उनले भने ।

‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडने मित्रहरुलाई पनि म आग्रह गर्छु, बेलाअनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले निगरानी गरिराखेका हुन्छन् । सबै परीक्षामा छौं र जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने हेक्का राख्यौं भने यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं’ मन्त्री ढकालले भनेका छन् ।

उनले महामारीविरुद्ध लागेको सरकारविरुद्ध अनेक नाममा विरोध भइरहेको बताए । ‘एक जमना थियो, पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । त्यसको अभाव छैन भनेपछि त्यसको गीत बजेन, पीसीआर परीक्षणको गीत आयो’ उनले भने, ‘अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् ।’ यसको व्यवहारबाट जवाफ दिने उनको दाबी गरे ।

कोरोना संक्रमण समुदाय स्तरमा देखिएपनि स्थिति सरकारको नियन्त्रणमै रहेको उनले बताए । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको स्वास्थ्यमन्त्री ढकालले दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *