Sajhamanch Archive

५२ वर्षमा पहिलो पटक विराटनगरको रथयात्रा स्थगन

Published: in प्रदेश तह, समाज by .

विराटनगर । कालो रंगको हाइलक्स गाडी बेलुनले सजाइएको थियो । थोरै तुल र ब्यानर थिएन । विधि पुर्‍याउनको लागि पण्डितले मन्त्र जप र पूजाअर्चना गराए । यसमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसहित केही सीमित व्यक्तिहरु सहभागी थिए ।

विगतजस्तो उल्लास थिएन भने  मानिसलाई लामबद्ध गर्न र भिड व्यवस्थित गर्न स्वयंसेवक नै परिचालन गरिएको थियो । विधि पूरा गरी तीनपैनीस्थित मन्दिरबाट राधाकृष्णको मूर्तिलाई काठ परम्परागत खटकमा राखियो । हाइलेक्स गाडीको पछाडि तीन जना सहयोगी बसे । अनि सुरु भयो विराटनगरको ऐतिहासिक रथयात्रा । खासमा विधि धान्नको लागि मात्र यो ५२ वर्षपछि राधाकृष्णलाई खटमा राखेर नगर परिक्रमा गराइयो ।

भक्तजनको सहभागिताको दृष्टिले दक्षिण एसियामै ठूलो मानिने विराटनगरको राधाकृष्ण रथयात्रा यो पटक निरश बन्न पुग्यो । कोभिड १९ को महामारीका कारण ५२ वर्षपछि राधाकृष्णलाई खटमा राखेर हाइलक्स गाडीमा नगर परिक्रमा गराइएको दृश्य यो पटक भक्तजनले आफ्नो खर्चको बार्दलीमै बसेर नियाले । तर, पूजालगायत कर्म गर्न भने पाएनन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट खटयात्राको रुपमा राधाकृष्णको मूर्तिलाई नगर परिक्रममा गराउने प्रचलन छ । यो पटकको ९० औं श्रृखंला भने भक्तजनविहीन रुपमा गरिएको छ ।

“जोखिमलाई मध्यनजगर गर्दै परम्परालाई कायम गर्नको लागि मात्र खटयात्रा गरिएको हो,”विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने,“पूववर्ती रथयात्रा जस्तो यो पटक सर्वसाधारणलाई के हुँदैछ र कसरी भगवना राधाकृष्णलाई नगर परिक्रमा गराइँदै छ भन्ने पनि जानकारी गराइएन ।”

विराटनगरमा १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भइ २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तरता पाएको थियो । तर, यो पटक यात्रा निस्किएन । बुधबार खटयात्रा भएको धेरैले त थाहासमेत पाएनन् ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *