Sajhamanch Archive

कोशी अस्पतालमा मृत्यु भएका युवकको पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नं.१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भयो ।

बिहान संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ‘सुरुको रिपोर्ट नेगेटिभ आयो, शंका लागेर पुनः स्वाब संकलन गरेका थियौं,’ डाक्टर दासले भने, ‘आज बिहान पोजेटिभ रिपोर्ट आयो ।’

कोरोनाको पीसीआर जाँच गर्दा प्रतिसयमा करिब ७० प्रतिशत सही रिपोर्ट आउँछ । मेसिनको अवस्था र संकलन गरिएको स्वाबका कारण कहिलेकाहीँ पोजेटिभलाई नगेटिभ देखाउन सक्ने प्राविधिकहरु बताउँछन् । सामान्यतया पोजेटिभ देखिएको केसको दुई पटक पीसीआर जाँच गरिन्छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *