Sajhamanch Archive

सीमा नाका बन्द भएको महिनौ वितेपनि रोकिएन सामान तस्करी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by .

भद्रपुर । नेपाल भारत सीमा बन्द गरिएको भण्डै पाँच महिना हुन लाग्दा सिमावर्ती क्षेत्रबाट अबैध तरिकाले हुने वारपार व्यपार भने दिनानुदिन बढ्दै गइरहेको छ ।

पूर्वी झापादेखि पश्चिमी झापासम्म नेपाल भारत सीमा क्षेत्रमा कोरोना संक्रमण जोखिम रोक्न बाक्लै सुरक्षाकर्मी परिचालन गरिएका भए पनि रात्रीकालीन व्यापार रोकिन नसकेको अवस्था छ । नेपाली बजारमा पर्याप्त भारतीय उत्पादन भेटिन्छन् तर भन्सार राजश्व ४० प्रतिशतसम्म गिरावट भएको अवस्थाले अबैध तरिकाले हुने वारपार व्यापार भने दिनानुदिन बढ्दै गइरहेको प्रमाणित गर्छ ।

बैध बाटोबाट सिमित सामग्री आइरहेको झापाका व्यापारिक नाका भन्दा गल्ली र गौंडाबाट अबैध सामग्री भित्रने वातावरण अनुकुल रहेकैकारण चोरी तस्करी भइरहेको सिमावर्ती क्षेत्रका बासिन्दा बताउने गर्छन् । उनीहरूका अनुसार सीमामा परिचालित सुरक्षाकर्मीले तस्करका दश लाखका सामान नेपाल प्रवेश गरेपछि दश हजारका सामग्री पक्राउ गरी भन्सार बुझाएको विवरण सार्वजनिक गर्ने गरेका छन् । हरेक दिन लाखौंका सामग्री अबैध बाटोबाट सहजै प्रवेश भइरहेको अवस्थामा केही हजारका सामान नियन्त्रणमा लिएको भन्नु हाँस्यात्मक काम भएको समेत प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ ।

पछिल्लो समय बन्दाबन्दी खुलेसँगै सिमावर्ती क्षेत्रमा अवैध कारोवार मौलाएको छ । नेपाल तथा भारतका सुरक्षा जिम्मेवारी लिएका प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरे पनि रातारात प्रहरीकै मिलिभगतमा भारतबाट नेपाल तर्फ सुर्तीजन्य पदार्थ, युरिया मल, कपडा, मेसिनरी पार्टपूर्जा, विभिन्न किटनासक रसायन, चप्पल जुत्ता भित्रिरहेको अवस्था छ भने सुपारी, चुरोट, ओखर, विभिन्न कस्मेटिक आइटम, बहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादन, काठ लगायत सामग्री भारत तर्फ गइरहेको सिमावर्ती क्षेत्रका स्थानीयले बताउने गरेका छन् ।

नेपालमा ल्याउन प्रतिबन्धित रहेका रञ्जनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनी, जस्ता सुर्तीजन्य पदार्थ अवैध रूपमा भित्रिएर झापाका बजारमा छ्यापछ्याप्ती पाइने गरेको छ । राजश्व छलेर व्यापारिक समूहले नेपाल ल्याएका यस्ता सामग्री बजार मूल्यभन्दा चारगुना बढीसम्ममा बेचिने गरे पनि प्रहरी प्रशासनले बिक्रेता लक्षित कारवाही समेत गरेको छैन ।

केही दिन अगाडि झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित अञ्जु किराना पसलको गोदाममा प्रहरीले छापा मारेको थियो । राजश्वको स्टिकर नभएको तथा भारतबाट भन्सार छलेर अवैध रूपमा सूर्तिजन्य पदार्थ बिक्री वितरण गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीले गोदाममा छापा मारेको थियो । राजस्वको स्टिकर नभएको राधाकृष्ण प्रोडक्स विराटनगरको उत्पादन झुमका सुपरपावर एक बोरा र अवैध रूपमा भारतबाट ल्याएर राखिएको बादशाह खैनी ६ बोरा, बाबा खैनी ६ बोरा बरामद गरेको थियो ।

यस्तै गएको बुधवार झापामा रहेको सशस्त्र प्रहरीले सामान बरामद गर्न चासो नदेखाएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीको निर्देशनमा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित रेडबुल बरामद गरेको थियो । रेडबुलको तस्करी भइरहेको विषयमा पटक–पटक सशस्त्र प्रहरी बल झापालाई जानकारी आउँदा समेत चासो नदेखाएपछि डिआइजीको कार्यालयमा जानकारी पुगेपछि सोही आधारमा इलामको पशुपतिनगर हुदै दुई वटा भेन मार्फत ल्याइएको नेपालमा प्रतिबन्धित १ सय १३ काटुन रेडबुल डिआइजी कार्यालयको टोलीले झापामा बरामद गरेको थियो । तस्करीको माध्यामबाट मे १ ज ३१४७ र मे १ ज २४१५ नम्बरको कालो प्लेटको भेनबाट ल्याइएको सामान बुधबार विहान झापाको विर्तामोड स्थित बसपार्क छेउबाट बरामद गरिएको शसस्त्र प्रहरी बल शनिश्चरे वेस क्याम्पले प्रष्ट पारिसकेको छ ।

यी प्रतिनिधिमुलक घटनाले पनि झापा नाका तस्करका लागि सहज तथा अनुकुल रहेको कारण राजश्व तिर्ने भन्दा छली गर्ने समूह बढ्दै गएको प्रष्ट हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकामा चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरिरहेको बताउने गरेको छ ।

झापासित जोडिएका सीमावर्ती भारतीय बजारबाट अबैध बाटो प्रयोग गरी नेपाल ल्याइएका अधिकाम्स सामग्री साविक मूल्यभन्दा अधिक मोल लिएर बेचिने गरेका छन् । उत्तरी झापाको बाहुण्डाँगी, नकलबन्दा, ज्यामिरगढी, दक्षिण पश्चिम भद्रपुरका विभिन्न गौंडाहरू, पाठामारी, केचना, घेरावारी, पिण्डलवारी कुमरखोद, झापा, टागनडुब्बा, गौरीगञ्ज लगायत दर्जनबढी स्थानबाट अबैध सामग्री भित्रने गरेको स्थानीय बताउँछन् । सय रूपैयादेखि हजार रूपैयासम्म बुझाएर भनसार छल्न व्यपारीले चोरी नाका प्रयोग गर्ने गरेको जनाइन्छ । कतिपय नाकाबाट भारतीय क्षेत्रमा रहेका व्यक्तिहरूलाई नेपाल ल्याउन उपयोग गरिने गरेको समेत जनाइन्छ ।

बेलाबेला नेपाली पक्षका सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अबैध सामग्री नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेको पनि देखिन्छ तर बजारमा कतीपय अबैध भनिएका भारतीय लगायत तेस्रो देशका सामग्री समेत सहजै पाइने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *