निशान अपहरण प्रकरणः सँगै खाना खान्थे ‘अपहरणकारी’, आमाले नै पठाएकी थिइन् घुमाउन !
Published: (Updated: )
by .काठमाडौं । काँडाघारीस्थित मनोहरा खोलाको छेउमा सागर डिपोसँगै चिया/खाजा पाइने एउटा सानो होटल छ ।
यो त्यही होटल हो, जुन अपहरणपछि सोमबार मृत भेटिएका बालक निशान खड्काकी आमा चमेली खड्काले करीब ८/९ वर्षदेखि सञ्चालन गर्दै आएकी छिन् ।
होटलमा गोपाल तामाङ नाम गरेका व्यक्ति (जो प्रहरी इन्काउन्टरमा मारिए) नियमित खाजा/खाना खान्थे । निकट स्रोतले जनाएअनुसार पेन्टरको काम गर्ने गोपालले सो होटलमा खान थालेको ४/५ वर्ष नै भइसकेको थियो ।
उनी निशान र आमा दुवैका लागि परिचित थिए । यतिसम्म कि गोपालले १२/१५ हजारको उधारोसमेत राख्ने गरेका थिए ।
स्थानीय हाइल्याण्ड स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय निशान आइतबार स्कूलबाट फर्किए । आफ्नै होटलमा आएर खाजा खाएपछि आमा चमेलीले निशानलाई मोबाइल किन्दिन भनेर पैसासहित गोपाललाई पठाइन् ।
१२/१५ सय पर्ने सामान्य मोबाइल किनेर गोपालसँग निशान होटलमा फर्किए ।
त्यसपछि गोपालले नै निशानलाई घुमाउन भनेर बाहिर लगे । उनले बालककी आमा चमेलीसँग नै सोधेर साइकलमा राखी घुमाउन लगेका थिए ।
उनीहरू त्यहाँबाट निस्किएको लामो समयसम्म पनि फर्किएनन् । साँझ अबेरसम्म नआएपछि आतालिएकी चमेलीले प्रहरीलाई खबर गरिन् ।
प्रहरी तुरुन्तै खोजतलासमा जुट्यो । तर निशानलाई जीवित भेट्न सकिएन ।
स्थानीयले ४/५ मिनेटसम्म सुनेका थिए ‘निशानको रोदन’
निशानको शव आइतबार बिहन भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित स्थानीय श्याम लवटको निर्माणाधीन घरको जगमा भेटियो ।
प्रहरीका अनुसार उनको हत्या आइतबार बेलुका ९ देखि १० बजेको बीचमा नै भएको थियो ।
स्थानीयले त्यतिबेला करीब ५ मिनेटसम्म बालक रोएको र चिच्याएको सुनेका रहेछन् । कुनै घरमा बच्चा रोएको होला भनेर कसैले चासो दिएनन् ।
अपहरणकारीले कपडाले मुख थुनेर निशानको हत्या गरी घरको जगमा किचेर छाडेका थिए । आइतबार बिहान घटनास्थलमा पुग्दा हिलाम्मे अवस्थामा निशानको शव भेटिएको थियो ।
अपहरणकारीलाई पछ्याउँदै इन्काउन्टर !
शव भेटिएपछि प्रहरीको एक टोलीले अपहरणकारीलाई पछ्याउन थाल्यो ।
भक्तपुरको सूर्यविनायक पुग्दा प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भयो । त्यसपछि प्रहरीले चलाएको गोली लागेर अजय तामाङ र गोपाल तामाङ नाम गरेका दुई व्यक्तिको मृत्यु भयो ।
गोपाल तिनै व्यक्ति हुन्, जोसँग आमाले निशानलाई घुम्न पठाएकी थिइन् ।
लोकान्तर
Comments