Sajhamanch Archive

अमेरिकामा कसले जित्दा आप्रवासीलाई फाइदा ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार जोए बाइडेनले ‘एच–वान बी’ भिसा प्रक्रियामा सुधार ल्याउने बताएका छन् ।

चुनावअघि इन्डियन–अमेरिकन समुदायलाई लक्षित गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । साथै उनले ग्रीन कार्डका लागि आरक्षण हटाउने पनि बताएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि अभियान जारी रहँदा नेता बाइडेनले यस्तो बताएका हुन् ।

‘एच–वान बी’ भिसा एक गैर आवासीय भिसा हो । जसले अमेरिकी कम्पनीहरुलाई प्राविधिक तथा सैद्धान्तिक विशेषज्ञताका आधारमा कामदारलाई रोजगार दिने अनुमति दिन्छ । बाइडेनको अभियानले परिवार आधारित अध्यागमन व्यवस्थालाई जोड दिएको छ । साथै धार्मिक कार्यकर्ता भिसालाई व्यवस्थित गर्नेतर्फ उनको अभियानले चासो देखाएको छ ।

बाइडेनको यस्तो अभियान र नीतिले भारतीय मूलका अमेरिकीहरुलाई प्रत्यक्ष प्रभाव पार्ने बताइन्छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको सन्दर्भ पारेर बाइडेनले उक्त समुदायलाई लक्षित गर्दै विज्ञप्ति जारी समेत गरे ।

वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आप्रवासीलाई रोक्न कट्टरपन्थी नीति लिइरहेका बेला बाइडेन भने लचिलो रुपमा प्रस्तुत भएका छन् । उनले जारी गरेको विज्ञप्ति अनुसार उनी भारतीय अमेरिकीहरुप्रति लचिलो हुनेछन् । भाषिक अवरोध हटाउनुका साथै इन्डियन–अमेरिकनको विविधतालाई सम्मान गर्ने बाइडेनको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय अमेरिकी समुदायलाई लक्षित गर्दै डेमोक्रेटिक राष्ट्रपति उम्मेदवारले विज्ञप्ति जारी गरेको यो पहिलो घटना हो । अमेरिकाका ८ वटा राज्यमा १० लाख ३० हजार भारतीय–अमेरिकी मतदाता छन् ।

यही वस्तुस्थितिलाई मध्यनजर गर्दै बाइडेनले उनीहरुका लागि भिडियो सन्देश समेत दिने कार्यक्रम छ । अमेरिकी चुनाव नजिकिँदै गर्दा रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिक उम्मेदवार बाइडेनले आ–आफ्ना सम्भावित मतदातासँग प्रतिवद्धता व्यक्त गर्न थालेका छन् ।

ट्रम्प आप्रवासीविरोधी तथा ‘अमेरिकन फस्र्ट’को नीतिमा अडिग छन् भने बाइडेन आप्रवासीप्रति लचिलो रुपमा प्रस्तुत भएका छन् । त्यसो त, बाइडेनसँगै उपराष्ट्रपति उम्मेदवार छिन्, कमला देवी ह्यारिस । जो भारतीय र अफ्रिकन मूलका जोडीबाट जन्मिएकी सन्तान हुन् ।

यसको ठीक विपरीत, ट्रम्प भने आप्रवासी, अस्वेत र महिला तीनै चिजप्रति असहिष्णु छन् । अर्थात्, उनी अमेरिकी सुद्धताको सिद्धान्तमा उभिएका छन् । तर अमेरिकामा ठूलो संख्यामा रहेको आप्रवासी, अस्वेत र अल्पसंख्यकको विश्वास जित्ने आशमा छन् डेमोक्रेटिक उम्मेदवार ।

एजेन्सीको सहयोगमा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *