Sajhamanch Archive

प्रदेश १ मा कोरोनाबाट मोरङ बढी प्रभावित

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का १४ जिल्लामध्ये कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मोरङ प्रभावित बनेको छ । त्यसपछि झापा, सुनसरी र उदयपुर बढी प्रभावित बनेका छन् । प्रदेशमा अहिलेसम्म दुई हजार ९३ जना संक्रमित फेला परिसकेका छन् । जसमा चार सय ६९ महिला र एक हजार छ सय २४ पुरुष छन् । जम्मा संक्रमितमध्ये मोरङका एक हजार २२ छन् । मोरङका संक्रमितमध्ये दुई सय ९२ महिला र सात सय ३० पुरुष छन् ।

मोरङमा पनि प्रदेश राजधानी रहेको विराटनगर महानगरपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । विराटनगरमा हालसम्म पाँच सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेश १ मा कोरोनाका कारण एक महिलासहित ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुने सबै मोरङका हुन् । ती मध्ये आठ जना विराटनगरका मात्रै छन् ।

मोरङपछि सबैभन्दा बढी झापा प्रभावित बनेको छ । झापामा संक्रमित संख्या चार सय ३० पुगेको छ । सुनसरीमा तीन सय ३३, उदयपुरमा एक सय आठ, इलाममा ८१, खोटाङमा १९, ओखलढुंगामा १८, धनकुटामा १७, ताप्लेजुङमा १२, तेह्रथुममा नौ, पाँचथर र सोलुखुम्बुमा सात÷सात, भोजपुरमा छ र संखुवासभामा पाँच जनालाई संक्रमण पुष्टि भइसकेको छ । पाँचथर, संखुवासभा, भोजपुर र सोलुखुम्बुका सबै संक्रमित उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । हालसम्म प्रदेश १ मा एक हजार ९९ जना उपचारपछि निको भएका छन् । निको हुँदै कोरोना पराजित गरेर घर फर्कनेमा एक सय ७८ महिला र नौ सय २१ पुरुष छन् ।

दुई सय ८९ महिला र छ सय ९१ पुरुष गरेर नौ सय ८० जना संक्रमित उपचाररत रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *