Sajhamanch Archive

कोरोना उपचारको लागि शय्या नछुट्याएका अस्पतालले कोरोना परीक्षण गर्न नपाउने : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सरकारले कोरोना भाइरस सङ्क्रमितका लागि तोकेको शय्या नछुट्याएका अस्पतालमा कोरोना परीक्षण गर्न नदिने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारको निर्देशनअनुसार कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत शय्या नछुट्याउने निजी अस्पताल र एक तिहाइ शय्या नछुट्याउने शिक्षण अस्पताललाई कोरोना परीक्षणको अधिकार नदिने निर्णय भएको बताए ।

यसअघि कोरोना परीक्षणको अनुमति लिएका अस्पतालहरुले पनि तोकिएको शय्या नछुट्याएमा अनुमति रद्द गर्ने उनले बताए ।

सबै अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि शय्या छुट्याउँदा सङ्क्रमण फैलिने खतरा बढेको चर्चा भएको भन्दै उनले यसबाट सङ्क्रमण फैलिने नभइ उपचारमा सहजीकरण हुने बताए ।

अबको केही वर्ष कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहने र अरु रोगको उपचारको लागि अस्पताल जानेहरुमा पनि कोरोना देखिने भएकोले कोरोना देखिएमा त्यही अस्पतालमा उपचारको लागि शय्या छुट्याउन भनेको प्रवक्ता गौतमले बताए ।

उनले अस्पतालहरुलाई कि सेवा बन्द गर्नुपर्ने कि तोकिएको शय्या अनिवार्य छुट्याउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको बताए । अबको केही समयपछि सबै सरकारी अस्पताल कोरोना सङ्क्रमितले भरिने सम्भावना रहेकोले निजी अस्पतालले उपचार गर्नैपर्ने र अरु रोगको उपचारका लागि पुगेका बिरामीमा कोरोना देखिएमा तत्काल कोरोना अस्पतालमा पठाउन नसक्ने अवस्था भएमा उपचार गर्नु बाध्यता हुने प्रवक्ता गौतमले बताए ।

उनले सबै अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि शय्या छुट्याउँदा सङ्क्रमण फैलिने नभइ व्यवस्थित उपचार हुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *