Sajhamanch Archive

कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

उनका अनुसार कोरोना नियन्त्रणमा चैतदेखि साउन मसान्तसम्ममा १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको जानकारी दिएको छन् ।

प्रवक्ता खतिवडाका अनुसार संघीय सञ्‍चित कोषणबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड खर्च भएको छ ।

यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट त्यस अतिरिक्त एक अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । जस अनुसार प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड दुई लाख, वागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्‍चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले जानकारी दिए । उक्त रकम औषधी र स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन र क्‍वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएकोसमेत प्रवक्ता खतिवडाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *