Sajhamanch Archive

सामूहिक दर खाएको भोलिपल्ट कोरोना पुष्टि

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् । तीजको माहोल चलिरहेको थियो । एक फाइनान्समा काम गर्ने गरेकी उनको आर्थिक अवस्था राम्रै थियो ।

स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोले स्वाब दिएर आएपछि उनले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखिन् । ३० भन्दा बढी महिला दर खाने कार्यक्रममा सहभागी भएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलालाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो ।

त्यसपछि उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पीसीआर परीक्षणको लागि भन्दै मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए ।आचार्यका अनुसार उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका छन् । उनीहरूलाई सोमबार स्वाब संकलनका लागि बोलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *