Sajhamanch Archive

कोभिड–१९ नियन्त्रण/उपचारमा सरकारको व्यवस्थापन राम्रो रहेको नेकपा कार्यदलको निष्कर्ष

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद सुल्झाउन गठित कार्यदलले कोभिड–१९ नियन्त्रण–उपचारमा सरकारको व्यवस्थापन तुलनात्मकरूपमा राम्रो रहेको निष्कर्ष निकालेको छ ।

“नेपालमा पनि यस महामारीबाट गम्भीर रूपले प्रभावित भएको छ । सुरुमै रोकथाम र नियन्त्रणका कदमहरू चालिएको र समयमै बन्दाबन्दी (लकडाउन) जारी गरिएको कारण नेपालमा लामो समयसम्म सङ्क्रमण नियन्त्रणमै रह्यो । यस अवधिमा सरकारले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन, प्रयोगशाला विस्तार, परीक्षण, विदेशबाट आउने तथा सङ्क्रमणको जोखिममा रहेकालाई अनिवार्य एकान्तबास (क्वारेन्टिन) मा राख्ने प्रबन्ध, सङ्क्रमितहरूलाई अलग्गै राख्ने स्थान (आइसोलेसन सेन्टर) र कोभिड विशेष अस्पताल स्थापना, समस्यामा परेका र रोजगारी गुमाएकाहरूका लागि राहत र विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश ल्याउनेजस्ता सकारात्मक काम गरेको छ । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा नेपालको व्यवस्थापन तुलनात्मक राम्रो रहेको छ,” कार्यदलको निष्कर्ष छ ।

साउन ३० गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको विष्णु पौडेल नेतृत्वको कार्यदलले कोरोना नियन्त्रण प्रभावकारी बनाउन सुझाव पनि दिएको छ । स्थायी कमिटीको बैठकबाट विशेष प्रस्ताव पारित गरेर कार्यकर्ता पंक्ति परिचालन गर्न पनि निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *