Sajhamanch Archive

मंगलबारदेखि पुनःचार्टर्ड उडान, फर्किनेलाई होटलबास अनिवार्य

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारबाट पुनः चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो ।

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउने छ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउनेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । यो दिन नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु ल्याउने छ ।

सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले बोकेर काठमाडौं ल्याउने गरी तालिका तय गरिएको छ । सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ ।

अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।

वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ । यसरी बस्दाको खर्च आफैंले बेहोर्नुपर्छ । दिनमा ५ सयजना मात्रै भित्रिन अनुमति दिइनेछ ।

टर्किस र कतार एयरले एक उडानमा मात्र १ सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *