Sajhamanch Archive

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा कोइराला नियुक्त

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।

कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा.डा. माधवप्रसाद दाहाल रहेका छन् । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो । बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा कुनै व्यक्तिलाई लैजानु उपयुक्त नहुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *