Sajhamanch Archive

निषेधाज्ञाको विकल्प खोज्‍न कांग्रेसको आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दीर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ।

कांग्रेसको कोरोना अनुगमन समितिले लकडाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दीर्घकालिन योजना ल्याउन माग गरेको हो। चार महिना लामो लक डाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको आरोप छ।

बन्दका कारण जनताले दुःख पाएकोले अब संक्रमण न्यूनीकरण गर्दै बन्दको विकल्पमा तत्कालिन र दीर्घकालिन योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बताए।

सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनुपर्ने उनको भनाई छ। संक्रमणको दर बढिरहेको अवस्थामा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए।

निजी अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउन सरकारले भने पनि त्यो व्यवहारिक नभएको उनको तर्क छ। त्यसको सट्टा आवश्यक अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने योजनाका साथ निजी अस्पतालसँग समन्वय गर्नुपर्ने सुझाव उनले दिए।

स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी लगायतमा संक्रमणको जोखिम बढेकाले उद्धार र उपचारको जिम्मा सरकारले लिनुपर्ने, स्वास्थ्यकर्मीका लागि बिमा कार्यक्रम तत्काल लागु गर्नुपर्ने र कोभिड जोखिम भत्ताको यथाशीघ्र व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ।

अहिले अक्सिजन र भेन्टिलेटरको समेत अभाव रहेकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने महतले बताए। विदेशमा अफ्ठ्यारोमा रहेका नागरिकहरूका लागि नियमित उडान खोल्नुपर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेन्टीका साथ बैकल्पिक उपाय सुनिश्चित गर्न पनि उनले सरकारसँग आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *