पहिलो पटक धार्मिक परम्परा अनुसार कोरोना संक्रमितको शव जलाइयो
Published:
by .विराटनगर। विराटनगरमा पहिलो पटक धार्मिक परम्परा अनुसार कोरोना संक्रमितको शव जलाइएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकी विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको शव धार्मिक परम्परा अनुसार घाटमा चिता बनाएर जलाइएको हो । कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर मृतकका परिवारले दाहसंस्कार गर्न पाउनु पर्ने माग राख्दै निवेदन दिएपछि संक्रमितको शव परिवारलाई जलाउन दिइएको हो । यसअघि संक्रमितको मृत्यु भएमा शव नेपाली सेनाको टोलीले लगेर खाल्डो खन्दै पुरेर व्यवस्थापन गर्ने गरेको थियो ।
संक्रमितको दाहसंस्कारमा सहभागी हुने परिवारका सदस्य, आफन्त एवं नातेदारले पीपीई लगाएको हुनु पर्ने, १० जनाभन्दा बढी मलामी सहभागी हुन नपाइने, अन्तिम संस्कारबाट फर्किएपछि ‘क्वारेन्टाइन’मा बस्नु पर्ने, शव नजिक गएर छुन वा चलाउन नपाइने र शव व्यवस्थापनका लागि आवश्यक सबै कुरा परिवारले मिलाउनु पर्ने नियम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।
उच्च अदालत विराटनगरले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारका सदस्य, आफन्त वा नातेदारलाई अन्तिम संस्कारमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी गरेको थियो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजालसले जारी गरेको आदेशमा भनिएको छ, ‘उपचारको क्रममा कुनै संक्रमितको मृत्यु भएमा दाहसंस्कारमा आफन्त वा नातेदारको उपस्थित हुने अधिकार रहने हुँदा आवश्यक सुरक्षाको मापदण्डको अधिनमा रही दाहसंस्कारमा उपस्थित हुने वातावरण मिलाउनू ।’
परिवारका सदस्य र आफन्तले नै जलाउनका लागि घाटमा चिता बनाका थिए । सेनाको टोलीले शव चितामा लगेर सुरक्षित हिसाबले राखिदिएपछि मृतकका श्रीमानले दागबत्ती दिएर दाहसंस्कार गरेका हुन् । दाहसंस्कारमा उपस्थित एक आफन्तले संक्रमितको शव व्यवस्थापनमा आवश्यक सबै सावधानी अपनाइएको बताएकाछन् । दाहसंस्कार सहभागि सबै दुई साता ‘क्वरोन्टाइनमा’ बस्ने बताएका छन् ।
Comments