Sajhamanch Archive

प्रदेश एकमा ५४ हजार हेक्टर धानखेत मासियो

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश एकलाई नेपालको अन्न भण्डार भनेर चिनिन्छ। तर, पछिल्लो १५ वर्षभित्र यो प्रदेशमा धान खेती हुने ५४ हजार हेक्टर जमिन मासिएको छ। प्रदेशमा बढदो शहरीकरणसँगै पछिल्लो समय खेतीयोग्य जमिन मासिने क्रम ह्वातै बढेको हो।

खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ गर्ने र आवास निर्माण गर्दा प्रदेशमा धान खेती हुने जमिन निरन्तर घटिरहेको छ। धान खेती हुने जमिनको क्षेत्रफल खुम्चिएसँगै उत्पादनमा पनि प्रत्येक वर्ष ह्रास आएको छ। विगतमा प्रदेश १ मा उत्पादन भएको धान अन्य प्रदेशमा पनि निर्यात हुने गरेकोमा देशको अन्न भण्डार भनिएको क्षेत्रमै भारतबाट धान-चामल आयात हुन थालेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश १ को मुख्य खाद्यबाली धान उत्पादन घट्दो क्रममा छ। धान खेती हुँदै आएको जमिन मासिँदै छ र भारतबाट आयात परिमाण बढिरहेको छ। आजभन्दा १७ वर्षअघि प्रदेशमा वार्षिक १६ लाख ४७ हजार मेट्रिकटन धान उत्पादन हुने गर्थ्यो। धान खेती हुने जमिन मासिँदै गएपछि प्रदेश १ अन्तर्गतका १४ जिल्लामा गएको १५ वर्षयता धानको उत्पादनमा कमी आएर ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टनमा सीमित भएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा धान खेती हुने ५४ हजार हेक्टर क्षेत्रफल गुमेको छ। सन्‌ २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो। अहिले ३ लाख १२ हजार हेक्टरमा मात्रै धान खेती हुने गर्छ। प्रदेशमा बर्खे धान ३ लाख ७६ हजार ९ सय ५२ हेक्टरमा तथा चैते धान २ लाख ८० हजार ५ सय ९३ हेक्टरमा लगाउने गरिएको छ।बर्खे र चैते गरी प्रदेशमा ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ। प्रदेशमा अहिले वार्षिक ४ लाख ८६ हजार मेट्रिकटन अन्न बचत हुने गरेको छ।

भान्सामा भारतको चामल

अन्न बचत हुने कारण भने यहाँ उत्पादन वृद्धि भएर होइन। अधिकांश प्रदेशवासीको भान्सामा भारतबाट आयात गरिएको चामल पाक्ने गरेको छ।धान-चामल खरिदका लागि वर्षेनी करोडौं रुपैया बाहिरिने गरेको छ। प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गरेको छ।

अहिले पनि प्रदेश नं १ बाट वार्षिक ३ हजार मेट्रिकटन धान अन्यत्र निर्यात हुँदै आएको छ। गत आर्थिक वर्षभित्र मात्रै प्रदेशमा भारतबाट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मुल्य तिरेर धान-चामल भित्रिएको छ। प्रदेशका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट ६ करोड ६३ लाख केजी धान चामल प्रदेश एकमा ल्याइएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *