Sajhamanch Archive

‘टिकटक’ का सीईओले दिए राजीनामा

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं । लोकप्रिय चिनियाँ भिडियो शेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख (सीईओ) केभिन मायरले राजीनामा दिएका छन् ।

केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्ससहित मेसेजिङ एप्लिकेसन विच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुवै चिनियाँ कम्पनीहरु अहिले सङ्कटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् । उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्ने छन् ।

टिकटकले पनि मायरले राजीनामा दिएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।

बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताएका छन् । उनले भारत र संयुक्त राज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकार गरेका छन् ।

गएको अगस्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रस्ट गर्न ४५ दिनको समय दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *