Sajhamanch Archive

रहेनन् पूर्वमुख्यमन्त्री करुणानिधि, अन्त्येष्टि विवाद अदालत पुग्यो

Published: in विविधा by .

भारतको तमिलनाडु राज्यका पूर्वमुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको निधन भएको छ।

चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको हो। तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत जुलाई २८ मा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको जन्म सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो।

करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार भइरहेको थियो। खराब स्वास्थ्यका कारण उनी दुई वर्षयता राजनीतिमा निस्कृय थिए। करुणानिधि सन् १९९६ को जुलाई २७ मा पार्टी अध्यक्ष बनेका थिए। करिब ८ दशक राजनीतिमा सक्रिय करुणानिधि पाँच पटक तमिलनाडुको मुख्यमन्त्री बने। १३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेका थिएनन्। उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए।

करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवाद लेखनसमेत गरेका थिए। यसैबीच करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ। उनीको पार्टीले मरिना तटमा अन्त्येष्टि गर्नुपर्ने माग गरेको छ। यो तटमा तमिलनाडुका वरिष्ठ राजनीतिज्ञको अन्त्येष्टि हुँदै आएको थियो। तर प्रदेश सरकारले यसलाई अनुमति दिएको छैन। तमिलनाडु सरकारका मुख्य सचिव गिरिजा वैद्यनाथनले करुणानिधिको समाधिका लागि अन्ना विश्वविद्यालयको अगाडि जमिन तयार पारिएको जानकारी दिए। यो इलाका मरिना तटबाट अाठ किलोमिटर टाढा पर्छ। यसबारे अदालतले नै निर्णय गर्ने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *