Sajhamanch Archive

प्रदेश २ का प्रयोगशालामा चार हजार बढी स्वाब थुप्रियो

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

सप्तरी । प्रदेश २ मा ४ हजारभन्दा बढी स्वाब अहिले पनि थन्किएको छ । बुधबारसम्मको तथ्यांक हेर्दा ४ हजार १ सय १३ स्वाबको नतिजा आउन सकेको छैन ।

सबैभन्दा बढी सप्तरीमा १ हजार २७, सर्लाहीमा ८ सय, धनुषामा ७ सय, महोत्तरीमा ४ सय ५०, बारामा ३ सय ८१, सिरहामा ३ सय २२, रौतहटमा २ सय ५८ र पर्सामा १ सय ७५ वटा स्वाबको नतिजा आउन बाँकी छ ।

प्रदेशमा कोरोना परीक्षणका लागि चार प्रयोगशाला छन् । राजविराज, जनकपुरधाममा एकरएक प्रदेश सरकारले दिएको मेसिन छ भने बीरगंजमा केन्द्र सरकार र महानगरपालिकाले खरिद गरेको दुईवटा मेसिन छ ।

राजविराजको मेसिनमा दैनिक ३ सय ५० वटासम्मको स्वाब संकलन गर्न सकिन्छ । जनकपुरधामको मेसिनमा अहिले ५ सय जति दैनिक परीक्षण भइरहेको प्रयोगशाला प्रमुख वणकुमार मिश्र बताउँछन् । वीरगञ्जको दुबै मेसिनले दैनिक ५ सय जतिको स्वाब परीक्षण गरिरहेको छ ।

सबैभन्दा बढी स्वाब थन्किएको सप्तरी स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादव जिल्लाको स्वाब अन्य प्रयोगशालाले लिन नमानेको बताउँछन् ।‘पहिला यहाँ मेसिन नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौंको टेकु र विराटनगर प्रयोगशालाले पनि स्वाबको परीक्षण गर्दै आएको थियो’ यादव भन्छन्, ‘ती प्रयोगशालामा अहिले स्वाब लिन मानेका छैनन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *