सहकारी उद्यम अबको अर्जुनदृष्टि
Published: (Updated: )
by .नेपाली जनजीवनमा सहकारी व्यवसायलाई समृद्धिको पहिलो आधार बनाउन सकिने अवस्था छ । सहकारी संस्थाहरु नै सदस्य केन्द्रित उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, प्रवर्धन तथा बजारीकरणको कार्यमा लागेका छन् ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले ७० प्रतिशत कारोबार विनियममा उल्लेखित उद्देश्य अनुरुप गर्नुपर्ने सहकारी ऐन २०७४ को प्रावधानका कारण पछिल्लो समय सहकारी उद्यम मौलाउन थालेको हो ।
झापालाई नेपालको सहकारी अभियानमा अग्रणी जिल्ला मानिन्छ । ९०० हाराहारी सहकारी संस्थाहरु भएको झापामा वित्तीय कारोबारका साथै सामाजिक उत्तरदायित्वमा पनि सहकारीले उल्लेख्य उपस्थिति जनाउने गरेको छ । योसँगै सहकारीले वस्तुहरुको उत्पादन, प्रशोधन, बजारीकरण तथा उपभोगको नीतिलाई अंगिकार गरेर सबल अभ्यास थालेका छन् ।
सहकारी संस्था आफैंले गाईपालन गरेर वा सदस्यलाई कर्जा लगानी गरेर होस्, यहाँ दुग्ध व्यवसाय फस्टाएको छ । बिर्तामोडको उर्जाशील कृषि सहकारीले गाइपालन गरेर गोठबाटै कच्चा दूध उपभोक्तालाई बेच्ने गर्दछ ।
मेचीनगरको इँटाभट्टास्थित एनएमसी डेरी उद्योगमा मात्र ३५ सय कृषक प्रतक्ष्य जोडिएका छन् । एनएमसी डेरीले प्रशोधित दूध, दही, घिऊ, पनिर, मिठाई, योगर्ट आदिको नियमित उत्पादन गरेर झापा, इलाम, मोरङ र सुनसरीका उपभोक्तासम्म पुर्याउने गरेको छ ।
सहकारीद्वारा सञ्चालित गाईफर्म र डेरी उद्योगले दुग्धजन्य पदार्थको कारोबार गरेर उद्यमशीलताको अभ्यास गरिरहेका छन् । दुग्ध व्यवसायका लागि चाहिने चिलिङ भ्याट तथा दूध संकलनकर्ताहरु पनि यही व्यवसायबाट आत्मनिर्भर बनिरहेका छन् ।
कतिपय कृषि सहकारीले आफ्नै लगानीमा कुखुरापालन गरेर होस् वा माछापालन गरेर, संस्थाको उद्देश्य पछ्याउने प्रयास गरिरहेका छन् । सहारा नेपालले बाख्रापालन तथा सागसब्जी उत्पादनतर्फ सदस्यहरुलाई अग्रसर गराएर उद्यमी एवम् आत्मनिर्भर बनाउँदै लगेको छ ।
माछा, मासु, दूधजस्तै दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, खानेतेल, बेसार, अचार, पिठोे आदि सहकारीका उत्पादनहरु सदस्यको रोजाइमा पर्ने गरेका छन् ।
धान, मकै, दालहन आदिको उन्नत विऊ विजन उत्पादन तथा बजारीकरणमा मेची कृषक सहकारी संस्था तथा महारानीझोडा साना किसान कृषि सहकारीको नाम अगाडि आउँछ । यी संस्थाले विऊ विजन तथा मलखाद प्रदान गरी किसानको उत्पादन आफूले किनिदिएर सदस्यहरुलाई नै खेती गर्न उत्प्रेरित गर्ने गरेका छन् ।
झापाको दूधेस्थित सहारा–सतासी मह उद्योगले सहकारी मार्फत् उद्यमशीलताको गहकिलो नमूना स्थापित गरिदिएको छ । महिलाहरु मात्रको अग्रसरतामा सञ्चालित सहकारी संस्थाले वार्षिक ६० टन मह उत्पादन गरेर देशभर बिक्री वितरण गर्न सक्नु चानचुने कुरा हुँदै होइन । मौरीको मह सो क्षेत्रका करिब ३०० परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ । अगुवा किसानहरुले मह तथा मौरीगोला बेचेरै वार्षिक १५ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको बताइन्छ ।
सहकारीका उत्पादनहरु बिक्री गर्न सहकारीले नै उपभोक्ता भण्डारहरु सञ्चालन गर्ने परिपाटीले बजारीकरणमा थप योगदान दिएको छ । ‘सहकारीका उत्पादन सहकारीद्वारा बजारीकरण’को नारा दिएर बिर्तामोडको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले गत वर्षदेखि पसल सञ्चालन गरेर सहकारी उद्यमशीलतालाई प्रोत्साहित गरिरहेको छ । झापा, मोरङ, इलाम र सुनसरीका सहकारीहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु त्यहाँ बेच्न राखिएको पाइन्छ ।
अझ सबै प्रकारका उपभोग्य वस्तुहरु एवम् घरायसी सामानहरु उपलब्ध गराउने उद्देश्यले खोलिएका सहकारी पसलको सेवाले सहकारिताको मर्मलाई थप उजागर गरेको छ । २०७६ वैशाखमा अर्जुनधाराको शनिश्चरेबाट एनएमसी कोप सप सुरु गरिएकोमा अहिल बनियानी, राजगढ, चारआली र चन्द्रगढीमा गरी ५ वटा कोप सप सञ्चालनमा छन् । निकट भविष्यमा गौरीगञ्ज, दूधे र बिर्तामोडमा कोप सप सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
पूर्वी नेपाल चिया उत्पादनको लागि प्रसिद्धि कमाएको भूगोल हो । यहाँ तराईका फाँटमा होस् वा पहाडी भेगमा चियाको हरियाली देख्न पाइन्छ । चिया पत्ती उत्पादन गर्ने बगानदेखि तथा प्रशोधन गर्ने कारखानासम्म सहकारीको सञ्जालमा जोडिएका छन् । यसले पनि सहकारी मार्फत् उद्यमशीलता जगाएको छ ।
सहकारी ऐन, २०७४ परिच्छेद ७ दफा ५० को उपदफा २ मा ‘यो ऐन प्रारम्भ हुनु अघि बहुउद्देश्यीय वा विषयगत संस्थाको रूपमा दर्ता भई मुख्य कारोबारको रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्ने गरी संस्थाहरूले मुख्य कारोबार गर्न सक्नेछन्’ भनिएको छ ।
यो प्रावधानले पनि अबको एक महिना अर्थात् असोज मसान्त भित्रमा बचत तथा ऋणको कारोबार गरिरहेका कृषि, उपभोक्ता तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफ्नो ७० प्रतिशत कारोबार उद्यमशीलतामा लगानी गरिसकेको हुनुपर्नेछ ।
यदि ऐनको सो प्रावधानलाई सहकारीकर्मीहरुले आत्मसात गर्ने हो भने सहकारीमा उद्यमशीलता स्वतः फस्टाउने निश्चित छ । अनि त उपभोग्य बस्तुहरुको खरिदमा विचौलियाबाट आम उपभोक्ताले अत्यासलाग्दो ठगीबाट बच्न पाउने थिए कि !
Comments