Sajhamanch Archive

‘सरकारले काम गर्दैन, निषेधाज्ञा लगाएर आनन्दले बसेको छ’

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा लगाएर चुप लागेर बसेको आरोप लगाएको छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदै गएको र कतिपय ठाउँमा समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको समितिको ठहर छ ।

समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘देशको विभिन्न भागमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ ।

निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदो छ भने सङ्क्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँमा समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको छ । निषेधाज्ञा लगाउनेरनलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’

केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षणसहित अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरिएकोमा सरकारले बेवास्ता गरेकोमा कांग्रेसले बनाएको समितिले आपत्ति जनाएको छ । कोरोना नियन्त्रणमा सरकारको संवेदनहीनता र निष्क्रियताको समितिले निन्दा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *