Sajhamanch Archive

एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ ।

घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ । प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् ।

बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे विस्तृत जानकारीसमेत उपलब्ध छैन । स्थानीय समयानुसार दिउँसो आपतकालीन सेवालाई सूचित गरियो ।

यो अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा अवस्थित छ । प्रहरीका अनुसार उनीहरुलाई स्थानीय समयानुसार करिब दुई बजे एउटा फोन आएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ पाँच बालबालिकाका् शव भेटेका हुन् । तीन छोरी र दुई छोरा छन् ।

बालबालिकाको उमेर एक वर्षदेखि आठ वर्षबीच थियो ।  बालबालिकाकी हजुरआमा घटनास्थलभन्दा करिब ६० किलोमिटर टाढा बस्छिन् ।

जर्मन न्यूज वेबसाइट बिल्डको रिपोर्ट अनुसार उनले नै आपतकालीन सेवालाई अलर्ट फोन गरेकी थिइन् । प्रहरी प्रवक्ता स्टिफनले आफ्नै ज्यान लिने कोसिसमा बालबालिकाकी आमा गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ताले पत्रकारसँगको कुराकानीमा प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले बालबालिकाकी आमासँग यो दुखद घटनाबारे कुरा गरिसकेपछि मात्रै यसको कारणबारे पत्ता लगाउन सकिने बताएको छ ।

स्रोतः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *