Sajhamanch Archive

बिर्तामोडको नगरपरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिक (भिडियो)

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि नगरपरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिक गरेको छ ।

नगरपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट साचर्वजनिक गर्दै उमेर हदका कारण अनिवार्य अवकास पाएका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाको भव्य बिदाइ गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. २ (क) का प्रदेश सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं लगायतले ‘नगर विकास योजना’ पुस्तिका सार्वजनिक गरे । नगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको १३९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य कार्कीले नगरपालिकाले तय गरेको ‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिबृद्धि, सभ्य र स्वस्थ्य नागरिक, बिर्तामोड नगरपालिकाको समृद्धि’ नारा साकार बनाउन सबै जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए ।

“गत वर्षभन्दा कमजोर नीति तथा कार्यक्रम आएको छ”, उनले भने, “कोरोना भाइरसको महामारीको असरले चारैतिर समस्या भएको छ ।” उनले नीति तथा कार्यक्रम राम्रो भएर र बजेट छुट्याए मात्र विकास नहुने बताउँदै बजेट कार्यान्वय महत्वपूर्ण पाटो भएको बताउँदै भने, “समृद्ध नगर बनाउन सबै क्षेत्र लाग्नुपर्छ, बजेट सफलताको शुभकामना छ ।”

कार्यक्रममा नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईंले नगरपालिकको नीति तथा कार्यक्रमले नगरलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे । उनले आकर्षक बजेट ल्याएर मात्र समृद्धि नहुने बताउँदै त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिए । “असारे विकासको अन्त्य गरेर सरकारले तय गरेको समय अनुसार नै विकास निर्माणमा लाग्नु पर्छ” उनले भने, “बजेट सदुपयोग र पारदर्शी अति आवश्यक छ ।” बिर्तामोडमा फोहोर व्यवस्थापन चुनौतीका रुपमा देखिएकाले सोको व्यवस्थापनका लागि वैकल्पिक उर्जा कम्पनीहरुसँग सहकार्यका लागि आवश्यक पहल थाल्न उनको सुझाव थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोडका सभापति एवम् वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले बिर्तामोड नगर सरकारले जनताको पक्षमा काम गरिरहेको बताए । राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, “जनताभन्दा माथि कोही छैन, सन्तुलित रुपमा सहकार्य गरेर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बजेटलाई पारदर्शी तवरले खर्च गरिने बताए । जनताले आफूहरुलाई चुनेर पठाएको बताउँदै उनले भने, “जनताले हामीलाई विश्वास गरेर पठाएका छन्, हामीले जनभावना समेटेर समृद्ध बिर्तामोड बनाउन कुनै कसर बाँकी राख्नुहुन्न ।” सबै कर्मचारीहरुलाई मुस्कानसहितको सेवा दिन समेत आग्रह उनको आग्रह थियो ।

कार्यक्रममा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र सहायक कर्मचारी राजेन्द्रप्रसाद पौडेललाई भव्य बदाई गरिएको छ । उमेर हदका कारण सेवा निवृत्त भएका खतिवडालाई प्रमुख अतिथि, नगरप्रमुख, उपप्रमुख लगायतले फूलमाया, सम्मानपत्र, मायाको चिनो एवम् दोसल्ला ओढाएर बिदाइ गरेका थिए ।

खतिवडालाई नगरपालिकाका विभिन्न शाखाका तर्फबाट समेत मायाको चिनो प्रदान गरिएको थियो । बिदाई कार्यक्रममा नगर क्षेत्रका दर्जनौँ संघ–संस्थाले सम्मान र मायाको चिनो प्रदान गरेका छन् । कर्तव्यनिष्ट राष्ट्रसेवक, भद्र एवम् शालीन व्यक्तित्वका धनी खतिवडाले तीन दशक बढी समय राष्ट्रसेवामा समर्पित गरेका थिए । उनी नेपाल सरकारको उपसचिव पदमा रहेर सेवा निवृत्त भएका हुन् ।

सोही कार्यक्रमका बीचमा बिर्तामोड नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीका कमाण्ड र उपकमाण्डरलाई दर्ज्यानी चिह्न समेत प्रदान गरिएको थियो । कार्यक्रमको स्वागत उपप्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिइन् भने सञ्चालन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

भिडियो पनि हेर्नुस्

Posted by SajhaManch.com on Friday, September 4, 2020

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *