अहिले नै बच्चाको बारेमा सोचेका छैनौं : प्रियंका
Published: (Updated: )
by .गत वर्षको फागुन दोस्रो साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेपछि बैबाहिक जीवनमा बाँधिएका उनीहरु हनिमुन मनाउन निस्कने तयारी गरिरहँदा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनीहरु घरभित्रै बसेर एकअर्कासँग समय विताइरहेका छन् ।
लकडाउनको समयमा अरु कलाकार विवादमा अल्झिरहँदा प्रियंकाले भने भान्सा झिरेर विभिन्न परिकार बनाउन सिकिन् र दर्शकलाई पनि सिकाइन् । उनले आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा केकदेखि चिकेन रोल्ससम्म बनाएका भिडियोहरु राखेकी छन् । उनले विभिन्न परिकार बनाएर यूट्युबमा सार्वजनिक गरेका भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन् ।
बिहीवार प्रियंका र आयुष्मानले यूट्युबमार्फत् आफ्ना प्रशंसकले सोधेका केही प्रश्नको जवाफ दिएका छन् । प्रियंकालाई एक दर्शकले सोधेका छन्, ‘लकडाउनमा आमा बन्नेबारे सोच्नुभएको छैन ?’ यसको जवाफमा उनले भनेकी छन्, ‘अहिले नै बच्चाको बारेमा सोचेका छैनौं । जब सोच बनाउँछौं तब अवश्य भन्नेछौं ।’ उनको जवाफमा आयुष्मानले पनि सहमतिको टाउको हल्लाए । एक अन्तर्वार्ताको क्रममा पहिलो पटक भेट भएको बताउने प्रियंका र आयुष्मान फिल्म ‘कथा काठमाण्डू’ मा काम गर्ने समयमा एकअर्काको प्रेममा डुबेका थिए । यसपछि उनीहरुले फिल्म ‘चंगा चेट’ र ‘प्रेम दिवस’ मा पनि काम गरे । पछिल्लो समय उनीहरुले आफूलाई अफर हुने फिल्ममा एकअर्कालाई सिफारिस गर्ने गरेको चर्चा छ । यद्यपि, यो कुरा दुवैले नकार्दै आएका छन् ।
Comments