Sajhamanch Archive

प्रधानमन्त्रीले गरे डाक्टरहरुसँग छलफल, निराशा र दिक्दारी हटाउन निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय कोभिड-१९ ले निम्त्याएका जटिलता कम गर्ने उपायका लागि परामर्शमा केन्द्रित भएका छन्। दुई दिनअघि अर्थतन्त्रमा परेको प्रभावबारे निजी क्षेत्रसँग छलफल गरेका प्रधानमन्त्रीले मंगलबार डाक्टरहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशित गरेका छन्। मंगलबार बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकको विशेष योगदान हुनेमा प्रधानमन्त्रीले जोड दिएका छन्।

छलफलमा प्रा.डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्र.डा. दिव्या सिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायत सहभागी थिए। उनीहरुले प्रधानमन्त्रीसँग यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेका थिए।

प्रधानमन्त्रीले कोभिड-१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतना अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको बताएका थिए। त्यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *