Sajhamanch Archive

दुर्गम क्षेत्रमा उडान गर्न नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्‍ने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल वायुसेवा निमगले दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा जहाज खरिद गर्ने तयारी गरेको छ । निगमले उपमहानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर यसको अध्ययन गरिरहेको छ । ६ वटा चिनियाँ जहाज चलाउन नसकेर थन्काएर राखेको निगमले नयाँ जहाज खरिद गर्न लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुधबार निगमका कार्यकारी अध्यक्ष एवं विभागीय प्रमुखहरुसँग गरेको छलफलमा पनि आन्तरिक उडानका लागि नयाँ विमान खरिद गर्ने योजना अगाडि बढाउन भनेका छन् ।

हिमाली, पहाडी तथा दुर्गम क्षेत्रमा उडान गराउने गरी निगमले नयाँ जहाज खरिद गर्न खोजेको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । निगमले चिनियाँ जहाज नउडाउने निर्णय गर्दै बेच्‍नको लागि सरकारको अनुमति खोजिरहेको छ । अहिले नेपाल एयरलाइन्ससँग आन्तरिकतर्फ तीन वटा जहाज छन् । दुईवटा मात्र टुइनअटर चालु अवस्थामा छन् भने अर्को लकडाउन लगत्तै बन्‍ने घिमिरेले जानकारी दिए ।

निगमसँग पैसा नभए पनि आन्तरिक उडानका लागि सरकारसँग पैसा मागेर नयाँ जहाज खरिद गर्न खोजेको हो । हाललाई दुर्गम एवं ग्रामिण क्षेत्रमा संचालन गर्ने गरी तीन वटा खरिद गर्ने र त्यसपछि प्रतिस्पर्धा गर्न थप गर्दै लैजाने योजना बनाएको घिमिरेले बताए । “बजेट कम छ तर केही सुरुवात गर्नुपर्ला । सरकारले पनि केही सहयोग गर्ला भन्ने अपेक्षा गरेका छौं” उनले भने । केही न केही उपाय निकालेरै भए पनि किन्‍ने योजनामा रहेको उनले बताए । निगम सरकारको शतप्रतिशत लगानी रहेको संस्थान हो ।

निगमका विभागीय प्रमुखहरुले ब्रिफिङ गरेपछि मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजान उपयुक्त खाका बनाउन भनेका छन् । उनले जीएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान एजेन्सी छनोट गर्न र मापदण्डका आधारमा मात्र तोक्न, खर्च कटौती तथा मितव्ययिता अपनाउन निर्देशन दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *