Sajhamanch Archive

एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् ।

त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु(याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने र लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका प्रेस सल्लाहकार थापाले बताएका छन् ।

एसिड पीडितलाई निस्शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन पनि दिएका छन् ।

।अनलाइन खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *