Sajhamanch Archive

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारले थप रकम उपलब्ध गरायो

Published: in प्रदेश तह, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्‍न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको छ ।

मोरङका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०/१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५-५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगन्ज र कमल गाउँपालिकालाई ५/५ लाख रकम प्रदेश सरकारले पठाएको छ ।

इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ । सुनसरी जिल्लाको क्‍वारेन्टिन, आइसोलेसन र होल्डिङ सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेसन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

स्थानीय पालिकाहरुको आवश्यकता र मागबमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *