Sajhamanch Archive

राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने

Published: in राष्ट्रिय समाचार by .

फिदिम । तीन दशकअघि ट्रयाक खोलिएको पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र मोरङ जिल्लाको बहुप्रतिक्षित राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने भएको छ ।

१०३ किलोमिटर लामो यो सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले अनुमति दिइसकेको र आयोजना निर्माणका लागि भारतीय एग्जिम बैङ्कबाट स्वीकृति प्राप्त भएको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले जानकारी दिए ।

७ मिटर चौडा बन्ने यो सडक ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी यसै हप्ता कालोपत्रेका लागि ठेक्का आह्वान हुने सांसद नेम्वाङले जानकारी दिए ।

सडक कालोपत्रेका लागि पहल गर्दै आएका प्रदेश नं। १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको यो सडक निर्माण हुने निश्चित भएको बताए ।

मन्त्री आङ्बोले पाँचथर, इलाम र धनकुटाको मेरुदण्डको रुपमा रहेको यो सडक निर्माणले यस क्षेत्रका स्थानीयको जीवनस्तरमा गुणात्मक परिवर्तन हुने भन्दै सडककै माध्यमबाट समृद्धिको ढोका खुल्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा यो योजना निर्माणका लागि ऋण सहयोगको घोषणा भारतले गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *