साहित्य चौतारी झापाद्वारा बाल प्रतिभा पुरस्कार स्थापना
Published:
by .बिर्तामोड । साहित्य चौतारी झापाले बाल प्रतिभा पुरस्कार स्थापना गरेको छ ।
३१ औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको बाल प्रतिभा सम्मान एवम् सांस्कृतिक कार्यक्रममा बाल प्रतिभा पुरस्कार स्थापना गरेको घोषणा गरिएको हो ।
झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदियमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा पुरस्कार प्रदान गरिने साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाले बिभिन्न क्षेत्रमा पुरस्कार र सम्मान स्थापना गरी प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा प्रदान गर्दै आइरहेकोमा यस वर्षदेखि बाल प्रतिभा पुरस्कार स्थापना गरी प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा पुरस्कार प्रदान गरिने उनले बताए । उनले बालबालिकाको अन्तरनिहीत प्रतिभालाई साहित्य चौतारीले मञ्च प्रदान गरी प्रोत्साहन गर्न बाल प्रतिभा पुरस्कारको स्थापना गरिएको जानकारी दिए ।
यस वर्षको बाल प्रतिभा पुरस्कार झापा बिर्तामोड–२ चारपानेकी बाल गायिका अनुजा कडरियालाई प्रदान गरिएको छ । ८ वर्षकै उमेरमा आफ्नै स्वरमा ‘साना हाम्रा कृष्ण’ नामक भजनको म्युजिक भिडियोसहितको गीति एल्बम समेत निकालेर सांगीतिक क्षेत्रमा चर्चा कमाएकी कडरियाको प्रतिभाको कदर गर्दै बालगायिका कडरियालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिएको साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
कार्यक्रम संयोजक हस्त परियारको अध्यक्षता तथा लोक गायक तथा साहित्य चौतारी झापाका पूर्व सम्मानित व्यक्तित्व अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संगित उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए भने सरगम संगीतालयका दिपक रायमाझी, कृपा पौडेल र आशिका विमलीले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लोकगायक ओली, साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठ लगायतले बाल गायिका अनुजा कडरियालाई कदर पत्र, खादा, दोसल्ला र नगदसहितको बाल प्रतिभा पुरस्कार प्रदान गरेका थिए । सोही कार्यक्रममा अनुजाका मातापितालाई समेत सम्मान गरिएको थियो ।
Comments