Sajhamanch Archive

म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । तीन खेलको एकदिवसीय सिरिजको उपाधि अस्ट्रेलियाले जितेको छ । बुधबार राति भएको सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई ३ विकटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।

इङ्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अस्ट्रेलियका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतकीय पारी खेल्दै टोलीलाई जित दिलाए ।

म्याक्सवेलले १०८ रनको शतकीय पारी खेलेका थिए भने क्यारीले १०६ रन जोडे । डेभिड वार्नरले २४ रन जोड्दा मार्नुस लबुसचङ्गेले २० र आरोन फिन्चले १२ रन जोड्न सफल भए । त्यस्तै मिचेल स्टार्क ११ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । इङ्ल्यान्डका लागि क्रिस वोक्स र जोए रुटले समान दुई दुई तथा आदिल रासिद र जोफ्रा आर्चरले एक -एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा सात विकेट गुमाउँदै ३०२ रन जोडेको थियो । इङ्ल्यान्डको विशाल योगफल खडा गर्न जोनी बेयरस्टोले शतकीय पारी खेले । उनले ११२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै साम बिलिङ्स र क्रिस वोक्सले अर्धशतकीय पारी खेले । बिलिङ्सले ५७ रनको योगदान दिए भने वोक्स ५३ रनमा अविजित रहे ।

कप्तान इओन मोर्गले २३, टोम कुरान १९ र अदिल रासिदले ११ रन जोडेका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जम्पाले समान तीन -तीन विकेट लिए । त्यस्तै पाट कुमिन्सले एक विकेट लिएका थिए ।

सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने दोस्रो खेल घरेलु टोली इङ्ल्यान्डले जितेको थियो । यसअघि भएकोे तीन खेलको टी–ट्वान्टी सिरिज भने इङ्ल्यान्डले जितेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *