Sajhamanch Archive

८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by .

संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको छ ।

लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको हो । सन् १८६५ मा हत्या गरिएका लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ इन्च लामा टुक्राहरुको सानो मुठासँगै उनको हत्याका विषयमै लेखिएको टेलिग्राम पत्रको बोस्टोनमा हालै लिलामी गरिएको थियो ।

लिंकनको कपाल कसले किन्यो भन्ने चाहिँ खुलाइएको छैन । लिंकनको पोष्टमार्टमपछि उनको टाउकोबाट निकालिएका कपाल लिंकन पत्नी म्यारी टोड लिंकनका भतिजा डाक्टर लिम्यान बीचर टोडलाई दिइएको थियो ।

आफूलाई दिइएको लिंकनको कपाललाई बेर्नका लागि तत्कालै केही थिएन उनीसँग । त्यसपछि उनले आफ्नो गोजीमा रहेको एक टेलिग्राम पत्र निकालेर कपाललाई त्यसमै राखेर पोको पारे । लिंकनको हत्या लगत्तै युद्ध विभागले पठाएको टेलिग्राम पत्र थियो त्यो ।

उनले रगत तथा दिमागको तरल पदार्थ समेत लतपतिएको कपाल सोही कागजमा बेरे र त्यसमा पेन्सिलले ‘हेयर अफ लिंकन’ भनेर लेखे । टोडका छोरा जेम्स ए टोडले सन् १९४५ को एक पत्रमा सो कपाल तथा टेलिग्रामक बारेमा वर्णन गरेका छन् ।

उनले लेखेका छन्, ‘यो कपाल अब्राहम लिंकनको हो । उनको टाउकोबाट काटिएको उक्त कपाल पोष्टमार्टमका क्रममा मेरा बुवालाई दिइएको थियो । जुन त्यसयता मेरो परिवारको पूर्ण संरक्षणमा रहेको छ ।’

 सीएनएन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *