Sajhamanch Archive

होस्टलमा भेटियो अस्थायी साधन, तास र गाँजा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंको वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास)लाई मर्या्दित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु भएको छ ।

महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो ।

बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुर्व्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उनले बताए ।

विभिन्न ३९ वटा कार्यक्रम लक्षित गरी तीन महिने अभियान गत साउन १ गतेदेखि शुरु भएको थियो । हालसम्म १० वटा कार्यक्रम सम्पन्न भएको वृत्तले जनाएको छ ।

अनुगमनअन्तर्गत बानेश्वरका केही होस्टलका बिस्तारामा गाँजा, तास, परिवार नियोजनका अस्थायी साधनलगायत विकृतिजन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

धेरै होस्टल दर्ता नगरी सञ्चालनमा रहेको र कतिपय होस्टलले दर्ता भए पनि नवीकरण नगरेको पाइएकाले तीनलाई ताकेता गर्न सम्बन्धित वडा कार्यालयले जिम्मेवारी लिनेछन् ।

अनुगमनमा अमर्यादित गतिविधिमा संलग्न व्यक्ति र सञ्चालकलाई एक पटकका लागि सचेत गराएर छाडिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

होस्टललगायत अन्य क्षेत्रमा भएको विकृति हटाई मर्या्दित समाज निर्माणको अभियानलाई निरन्तरता दिइने उनको भनाई छ ।

होस्टल एशोसिएशनको तथ्याङ्कअनुसार बानेश्वर क्षेत्रमा ३०० वटा होस्टल सञ्चालनमा छन् । विगतमा पनि ती क्षेत्रमा सञ्चालित होस्टलमा झैँ–झगडालगायत अमर्या्दित गतिविधि भएको आधारमा प्रहरीले छापा मारेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *