Sajhamanch Archive

आँचलले सम्झिइन् पलसँगका पुराना दिन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता-अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो ।

‘आँप जोडी’ को रुपमा दर्शकहरुले निकै रुचाएका पल र आँचलले दोस्रो फिल्मको रुपमा ‘जोनी जेन्टलम्यान’ मा काम गरे । तर, फिल्म बक्सअफिसमा सफल हुन सकेन । यसपछि उनीहरुले तेस्रो फिल्म ‘शत्रु गते’ मा अभिनय गरे । यो फिल्मबाट भने उनीहरु निराश हुनु परेन । लगातार तीन फिल्ममा सहकार्य हुँदा उनीहरु एकअर्काको गहिरो प्रेममा रहेको चर्चा चल्न थालेको थियो ।

‘शत्रु गते’ पछि भने पल र आँचलबीच फिल्ममा सहकार्य हुन सकेको छैन । तर, यो बीचमा उनीहरुले ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गरे । दर्शकहरुले यो जोडीलाई वास्तविक जीवनमा श्रीमान-श्रीमतीको रुपमा हेर्न चाहेका थिए । आँचलले गत वर्ष डा. उदिप श्रेष्ठसँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनीहरुका प्रशंसक निराश भएका छन् ।

आँचलको रिसेप्सन पार्टी छल्न पल मुक्तिनाथ दर्शनमा निस्किएपछि उनीहरुबीच पानी बाराबारको सम्बन्ध रहेको आँकलन गरिएको छ । तर, पलले मुक्तिनाथ गएका कारण रिसेप्सन पार्टीमा सहभागी हुन नपाएकोमा एक अन्तर्वार्तामार्फत् आँचलसँग माफी मागेका छन् । उनले भविष्यमा राम्रो प्रोजेक्टबाट प्रस्ताव आए सँगै काम गर्न समस्या नभएको पनि बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *