Sajhamanch Archive

चिया समस्या समाधान गर्न चारबुँदे सहमति

Published: (Updated: ) in लोकप्रिय, समाज by .

झापा । मुलुकको चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ । चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघबीच चारबुँदे सहमति भएसंगै समस्या हल भएको हो ।

संवाद समूहको संयोजनमा उत्पादक संघ र तीन वटै ट्रेड युनियनबीच भएको सहमति शुक्रबार संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।

पटक–पटकको वार्ता र छलफलपछि दुवै पक्षबीच सहमति भएको हो । यो सहमति अनुसारको ज्याला राजपत्रमा प्रकाशित हुने छ । कानुनको रुपमा उक्त विषय समेटिएपछि देशभरका चिया क्षेत्रमा लागू हुनेछ । सहमति सार्वजनिक समारोहमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार अग्रवाल र चण्डी पराजुलीले धारणा राखेका थिए ।

यस्तो छ सहमति–

१. चिया बगानमा काम गर्ने कामदार तथा कर्मचारीहरुको दैनिक आधारभुत पारिश्रमिक रु. २३१।– मा दैनिक रु. ५० (पचास मात्र) वृद्धि गर्ने, उक्त वृद्धि गरिएको रकम यस वर्ष २०७७ साउन १ गते देखी लागु हुनेगरी दैनिक रु. ३०/– र २०७८ साउन १ गतेदेखी दैनिक रु. २०/– लागु हुनेगरी नेपाल सरकारलाई सिफारिस गर्ने सहमति गरियो । साथै चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा कामगर्ने नाईके, वहिदार र चौकीदारको ज्यालाका अतिरिक्त दैनिक भत्ता रु. ४२/–मा रु. १३/– वृद्धि गरी दैनिक रु. ५५/– कायम गर्ने सहमति गरियो ।

२. २०७५ साउन १ गते देखी लागू हुनेगरी वृद्धि भएको दैनिक रु. १०७/–२०७५ साउन १ गते देखी २०७५ चैत १५ गतेसम्मको फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकहरुलाई भुक्तानी गर्दै गरेका बिषयलाई निरन्तरता दिई भुक्तानी दिइ लिइ सक्ने सहमति गरियो ।

३. श्रमऐन २०७४ र श्रमनियमावली २०७५ मा भएको व्यवस्थाहरु सवै चियाबगानमा कार्यान्वयन गर्दै जाने ।

४.  हाल विश्वलाई आतंककित बनाई रहेको कोरोना भाईरसबाट बच्न बचाउन आवश्यक नेपाल सरकारले तोकेको मापदण्ड पुरागरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने, श्रमिकहरुले पनि आफ्नो सजगता अपनाउने सहमति गरियो । साथै अन्य चिया सम्बन्धि बिषयहरुका बिषयमा निरन्तर छलफल गर्दै जाने सहमति गरियो ।

ट्रेड युनियनको तर्फबाट भूपाल सापकोटा, दीपक तामाङले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए । सहमतिमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेस कुमार अग्रवाल, जे.पि. शर्मा, चण्डी पराजुली, विनय गोयल , रमेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

ट्रेड युनियनको तर्फबाट सहीकुमार राई – (फापुन), सन्तकुमार राई , नेत्रप्रसाद दाहाल, दिपक तामाङ्ग (ने.चि.ब श्र.संघ),मिलन राई, जीवन खड्का, सीता सापकोटा (अ.ने.चि.म.संघ), भूपाल सापकोटा, तिलक दर्जी,देविप्रसाद खनालले हस्ताक्षर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *