Sajhamanch Archive

प्रदेश १ का दुई अस्पतालमा गरीब र विपन्‍नले निःशुल्क उपचार पाउने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश एकका दुई ठुला सरकारी अस्पतालमा अब गरीब तथा विपन्न वर्गले अब आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने भएका छन्‌।

गरीब तथा विपन्न वर्गका लागि विराटनगरको कोशी अस्पताल र धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लागेका हुन्‌।

कोशी अस्पताल संघीय सरकार मातहतमा रहेको छ। संघीय सरकारले गरीब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने देशभरका १५ वटा अस्पतालमा कोशी र वीपीलाई पनि समेटेको छ। यो सँगै ती दुई अस्पतालबाट प्राप्त हुने आकस्मिक स्वास्थ्य सेवा गरीब तथा विपन्न वर्गले निःशुल्क प्राप्त गर्ने बाटो खुलेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७७ जारी गरिसकेको छ।

मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार काठमाडौंका त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विपन्‍नका लागि आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुनेछ ।

त्यसैगरी नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई मन्त्रालयले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क दिने स्वास्थ्य संस्थाको सूचीमा राखेको छ‌।

यो सेवा शुरू गर्न पहिलो चरणमा सम्बन्धित अस्पतालहरूलाई मन्त्रालयले केही बजेट पेश्कीको रुपमा दिनेछ। खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य हुनुपर्नेछ। कार्यक्रमको अनुगमन तथा निरीक्षण संघ र प्रदेशका सम्बन्धित निकायहरूले आवश्यकता अनुसार कम्तीमा वर्षमा २ पटक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएकोे छ।

आकस्मिक स्वास्थ्य सेवा निःशुल्क हुने अवस्था

 सरकारले गरीब परिवार परिचयपत्रवाहक नेपाली नागरिक, स्थानीय पालिकाका सिफारिसपत्र वाहक, उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही नभएका, तेस्रो व्यक्तिले ल्याएका, अप्ठयारोमा परेको सेवाग्राही वा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई निस्शुल्क उपचार गर्नेछ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दासले सरकारको नीतिअनुसार सम्पूर्ण तयारी पूरा गरी कोशी अस्पतालमा असोज ८ गतेबाट गरीब तथा विपन्न वर्गका लागि निस्शुल्क आकस्मिक सेवा थालिने जानकारी दिए।

कार्यविधिमा अस्पतालले बिरामीका लागि आवश्यक पर्ने औषधि तथा उपकरण र अन्य सामाग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ। बिरामी स्थिर भइसकेपछि आवश्यकता अनुसार डिस्चार्ज, वार्डमा भर्ना, शल्यक्रिया, सघन उपचार कक्षमा आइसियु भर्ना गर्नुपर्नेछ।

कुनै बिरामीलाई आकस्मिक घटना वा आपतकालिन अवस्थामा जीवन वा अङ्ग जोखिममुक्त गरी स्थिर बनाउन वा आकस्मिक कक्षमा गरिने उपचार, तत्काल दिनुपर्ने अत्यावश्यक औषधि उपचारसहितको निःशुल्क सेवा र आकस्मिक सेवा प्राप्त हुनेछ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *