Sajhamanch Archive

उद्यमशील महिला संघमा पुनः पार्वता

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by .

बिर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाको दोस्रो अधिवेशनले पार्वता बिमलीलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि बिमलीलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुशुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाई, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक सर्वसम्मत चयन भएका छन् ।

गठित समितिका सदस्यहरुमा कमला शिवाकोटी, इन्दु सुवेदी अधिकारी, संगीता चिमरिया, पूजा सुवेदी बस्नेत, विमला न्यौपाने, सिसम शाह, दिपा पोखरेल, विना घिमिरे र निरा न्यौपाने चयन भएको जनाइएको छ ।

उर्मिला खरेलको संयोजकत्वमा इन्दू पूर्वेली र अम्बिका भण्डारी सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति गठन गर्दै निर्वाचन सम्पन्न गरेको हो ।

यसअघि सम्पन्न अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले महिलाहरुले पुरुषको आम्दानीमा निर्भर रहने समय अहिले नरहेको बताउँदै उद्यमशिलता मार्फत् आर्थिक शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्न महिला उद्यमीहरुलाई आग्रह गरेकी छन् ।

नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओम विमली, नेपाल अलैची ब्यवसायी महासंघका महासचिव सुवास भट्टराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीलगायतले मन्तब्य राखेका थिए ।

मन्तब्यमा उनीहरुले हरेक काम गर्न महिला सक्षम रहे पनि अझै समाजले पूर्ण रुपमा विश्वास गरी नसकेको धारणा राखेका थिए । महिलाहरुको आर्थिक सशक्तिकरणले महिला हिंसा कम हुने र महिलामा आत्मनिर्भरता तथा आत्मविश्वास बढ्ने बक्ताहरुको भनाई छ ।

सम्पत्ति माथि महिलाको स्वामित्व र सर्वाधिकार बढाउनुपर्नेमा जोड दिँदै वक्ताहरुले उद्यमशील महिला संघको गठन गरेर एक पाइला अघि बढ्न सफल भएकोमा बधाई दिएका थिए । संघका महासचिव सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा भीमा शिवाकोटीले स्वागत तथा औचित्य माथि प्रकाश पारेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *