Sajhamanch Archive

होटल सञ्चालकको कुटपिटबाट मोरङमा एकजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

मोरङ । युनिक होटल सञ्चालन गरेर बसेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट मोरङको उर्लाबारी नगरपालिका वडा नं.७ मा एकजनाको मृृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका तामाङले कुटपिट गर्दा ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको हो । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारी क्षेत्रमै बसोबास गर्दै आएका थिए । उनी सुनचाँदीका गहना बनाउने कालीगढ हुन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका मल्लिक श्रीमती कञ्चनसहित युनिक होटलमा आइतबारराति ११ः३० बजेतिर खाजा खान भनेर पुगेका थिए । होटलमा विवाद गर्दै सेवनका लागि मदिरा माग्न थालेपछि होटल सञ्चालकसँग ग्राहाकको झगडा भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि तामाङले कुटपिट गर्दै धकेलेर बाहिर निकाल्न खोज्दा लडेर मल्लिक बेहोस भएका थिए ।

टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगियो ।

बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको प्रहरीले जनाएको छ । होटलमा ग्राहाक बनेर गए पनि कुटाईबाट घाइते भएका मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको एसपी खड्काले बताए ।

पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *