Sajhamanch Archive

यात्रुको चाप अत्यधिक बढेसँगै आन्तरिक हवाइ उडानको संख्या थपियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ ।लामो समयको लकडाउनपछि हवाइ तथा स्थल यातायात सेवा सुचारु भएसँगै यात्रुको चाप बढेपछि प्राधिकरणले आन्तरिक उडानको संख्या थप्न अनुमति दिएको हो ।

निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन माग गर्दै आएका थिए ।आजदेखि आन्तरिक हवाई उडान गर्ने विभिन्न आठ निजी वायुसेवा कम्पनीका जहाजले दैनिक ७४ वटा उडान गर्ने भएका छन् ।

६ महिनापछि गत असोज ५ गतेदेखि उडान थालेका ती कम्पनीलाई २५ प्रतिशत मात्रै उडान गर्न प्राधिकरणले अनुमति दिएको थियो । नयाँ तालिका अनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ वटा उडान गर्न पाउने छ । बुद्धले यसअघि दैनिक १८ वटा उडानको अनुमति पाएको थियो ।

यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमति पाएको छ । त्यसैगरी श्री एयरले १२, तारा, समिट र सिता एयरले ४–४ तथा सिम्रिक र सौर्य एयरले २-२, उडानको अनुमति पाएका छन् । सिम्रिकको काठमाडौं–पोखरा दैनिक २ उडान रहेको छ । तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ ।

यसैगरी सिता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ । समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ ।प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागु हुनेछ । परिस्थितिको अवस्था हेरि उडान थपघटको निर्णय हुन सक्ने प्राधिकरणले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *