Sajhamanch Archive

कोरोनाको कहरः शिवसताक्षीमा टोल–टोल मै विद्यार्थी पढाइदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

शिवसताक्षी । कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ ।

विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित गर्न केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । तर ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा विद्यार्थीहरु पढ्नबाट बच्चित बनेका छन् ।

शिवसताक्षी नगरपालिकाले नगर भित्रका सामुदायिक तथा निजी विद्यालयहरुलाई सिकाई केन्द्र बनाएर विद्यार्थीलाई पठन पाठन गराउन सहजीकरण गर्न विद्यालयलाई सुचित गरेको छ । सिकाई सहजीकरण निर्देशिकका २०७७ अनुसार टोल टोलमा सिकाई केन्द्र स्थापना गरी पठन पाठन सुरु गर्न लगाइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले जानकारी दिए ।

यता शिवसताक्षी नगरपालिकाको एक विद्यालयले वैकल्पिक तरिकाबाट पठन पाठन सुरु गरेको छ । नगरको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्शम माध्यमिक विद्यालयले टोल टोलमा शिक्षक पठाई पठन पाठन गर्न सुरु गरेको हो ।

शैक्षिक–सत्र सुरु भएको तीन महिना बितेपछि विद्यालयले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाउने विकल्प छानेको हो । टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा विद्यार्थी भेला गरेर आफ्नो विषयको पठन–पाठन गराउने व्यवस्था मिलाइएको छ । खटिएका शिक्षकले पायक पर्ने विद्यालय, आमा समूह, सचेतना केन्द्रको भवन, व्यक्तिकै घर, पाटी लगायतका ठाउँमा भेला भएका विद्यार्थीलाई पढाउने छन् । होमवर्क दिने र मूलयांकन गर्ने छन् ।

टोलको फरक–फरक स्थानमा दैनिक कक्षा १ देखि कक्षा १२ सम्मका पठन–पाठनको व्यवस्था मिलाइएको विद्यालयका प्र.अ.कालीप्रसाद रिजालले जानकारी दिए । एउटा सिकाई केन्द्रमा १० देखि १५ जनासम्म विद्यार्थी रहने छन् । विद्यालयमाबाट ३६ शिक्षक, ३ जना बालशिक्षक र १ जना नर्श विद्यार्थीलाई सहजीकरण गर्नका लागि परिचालन गरिएको छ । विषयत शिक्षकलाई पालैपालो प्रत्येक सिकाई केन्द्रमा पठाइने व्यवस्था मिलाइएको प्र.अ. रिजालले बताए । हाल विद्यालयले १३ ओटा सिकाई केन्द्र स्थापना गरी पठन पाठन सुरु गरेको हो ।

आफ्नो घर आगनमा आएर पठन पाठन सुरु गरेपछि विद्यार्थी र अभिभावक पनि दंग छन् । कोरोना भाइरसका कारण अभिभावकले आफ्ना छोरा छोरी पढाई विग्रने चिन्ता भइरहेका बेला सिकाई केन्द्र बनाई घर आगनमै शिक्षा दिन थालेपछि अभिभावकहरु ढुक्क भएका छन् ।

शिवसताक्षी नगरपालिकामा ३७ वटा सामुदायिक विद्यालय छन् भने २७ ओटा निजी विद्यालयहरु रहेका छन् । नगर भित्रका केही विद्यालयहरुले सिकाई सुरु गरेका छन् भने सबै विद्यालयहरुले सिकाई केन्द्र स्थापना गरी आइतबारबाट पठन पठन सुरु गर्ने नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *