Sajhamanch Archive

मुख्यमन्त्री राईसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

Published: in प्रदेश तह, राजनीति by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियेतले कार्यसम्पादन सम्झौता गरेका हुन् । बाँकी मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री राईले कार्यसम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताएका छन् । उनले सम्झौताबमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अब मन्त्रीहरुसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्नेछन् ।

प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको हो । त्यस्तै प्रदेश सुशासन ऐन र नियमावली को व्यवस्थालाई आत्मसात् गर्दै सम्झौता कार्यक्रमको थालनी भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *