Sajhamanch Archive

यस सिजनको आईपीएलमा बेन्चमा बसेका दिग्गज खेलाडी !

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । आईपीएल २०२० मा विशाल लक्ष्य सुम्पिने खेलको सिलसिला लगातार जारी छ । अहिलेसम्म कैयौं विशाल लक्ष्य भएका खेल आईपीएलमा भइरहेका छन् ।

आईपीएलको यस सिजनमा सबै टोलीको प्रदर्शन लगभग उस्तै छ । आईपीएलको यस सिजनमा केही दिग्गज खेलाडी बेन्चमा छन् । हरेक टिममा उत्कृष्ट खेलाडी छन् र यी सबै आफ्नो टोलीका लागि आवश्‍यक खेलाडी हुन् ।

यसमध्ये केही खेलाडीलाई लगातार खेल्ने अवसर दिइएको छ । तर, केही यस्ता दिग्गज खेलाडी छन्, जसले यस सिजनको आईपीएलमा अहिलेसम्म कुनै पनि खेल खेल्न पाएका छैनन् । आईपीएलको यस सिजनमा बेन्चमा रहेका तीन दिग्गज खेलाडी यी हुन् ।

क्रिस लिन

दिग्गज सलामी ब्याट्सम्यान क्रिस लिनलाई यस सिजनको आईपीएलमा अहिलेसम्म खेल्ने अवसर दिइएको छैन । पछिल्लो समय उनको लय सही नभएको भन्दै उनलाई प्लेइङ एघारमा अवसर दिइएको छैन ।

उनले सीपीएल खेल्दा खासै रन बटुल्न सकेका थिएनन् । यसको अलावा मुम्बई इन्डियन्स टोलीमा ओपनिङ गर्न कप्तान रोहित शर्मा र क्विन्टन डी काक छन् । यही कारण क्रिस लिनले प्लेइङ एघारमा स्थान बनाउन सकिरहेका छैनन् ।क्रिस लिनलाई मुम्बईले आईपीएल लिलामीबाट तीन करोड भारतीय रुपैयाँमा किनेको थियो । तर, अहिलेसम्म उनलाई बेन्चमा राखिएको छ ।

इमरान ताहिर

चेन्‍नई सुपर किंग्सका दिग्गज स्पिनर बलर इमरान ताहिरलाई पनि यस सिजनको आईपीएलमा प्लेइङ एघारमा स्थान दिइएको छैन । इमरान ताहिरले सीपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए र उनी राम्रो लयमा देखिएका थिए । तर, टोलीको कम्बिनेसनका कारण उनले प्लेइङ एघारमा स्थान बनाउन सकिरहेका छैनन् ।

सेन वाट्सन, फाफ डू प्लेसी, सैम करन र ड्वेन ब्रावो गरी चार विदेशी खेलाडीलाई चेन्नाईले टोलीमा राखेको छ । त्यसैले इमरान ताहिरलाई प्लेइङ एघारमा स्थान मिलेको छैन ।

क्रिस गेल

किंग्स इलाभेन पन्जाबका दिग्गज विस्फोटक ब्याट्सम्यान क्रिस गेलले पनि अहिलेसम्म यस सिजनको आईपीएलमा खेल्ने अवसर पाएका छैनन् । क्रिस गेलजस्ता ब्याट्सम्यान बेन्चमा बस्नु आफैंमा एक आश्‍चर्यको विषय हो ।

कुनै पनि टोली गेलजस्ता ब्याट्सम्यानलाई बेन्चमा राख्‍न चाहँदैन । तर, किंग्स इलाभेन पन्जाबले गेललाई प्लेइङ एघारमा स्थान दिन सकेको छैन । किंग्स इलाभेन पन्जाबमा कप्तान के एल राहुल र मयंक अग्रवालले उत्कृष्ट ओपनिङ गरिरहेका छन् । दुवैले निकै बिस्फोटक पारी खेलेका छन् । यही कारण गेललाई प्लेइङ एघारमा स्थान नमिलेको मान्‍न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *